जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला प्रतिनिधिसभा उम्मेदवार बिनिता कठायतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीमाथि गम्भीर राजनीतिक आरोप लगाएकी छन्।
बुधबार खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कठायतले शाहीले चुनाव जित्न मतदातामाझ ‘हलो र घण्टी एउटै चिन्ह हुन्’ भन्ने भ्रमपूर्ण प्रचार गरिरहेको आरोप लगाइन्। उनका अनुसार शाहीले गाउँ–गाउँमा पुगेर प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टीमा भोट हाल्न आग्रह गर्दै गलत सूचना फैलाइरहेका छन्। उनले यस्तो गतिविधिलाई मतदाता ठग्ने प्रयास र लोकतान्त्रिक प्रणालीमाथिको प्रहारको संज्ञा दिइन्।
कठायतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई जुम्ला आउन नदिएको भन्ने शाहीको अभिव्यक्तिलाई पनि अस्वीकार गर्दै त्यसलाई निराधार दाबी गरिन्। उनले बालेनको टोली स्वास्थ्य समस्याका कारण फर्किएको स्पष्ट पारिन्।
यसैबीच, कठायतले शाहीको राजनीतिक नैतिकतामाथि प्रश्न उठाउँदै उनले यसअघि रास्वपाबाटै उम्मेदवार बन्न टिकट लिन प्रयास गरेको दाबी गरिन्। ‘हिजो रास्वपाबाट टिकट लिन प्रयास गर्ने व्यक्ति आज त्यही पार्टीविरुद्ध भ्रम फैलाइरहेको देखिन्छ, जुन राजनीतिक अवसरवादको उदाहरण हो,’ उनले भनिन्।
उनले शाही सांसद हुँदा जुम्लाको विकासका लागि उल्लेखनीय काम गर्न नसकेको र उत्तेजनात्मक राजनीति मात्र गरेको आरोप समेत लगाइन्। साथै, राजतन्त्रको पक्षमा उभिएका शक्तिसँग सहकार्य सम्भव नभएको उल्लेख गर्दै उनले शाहीलाई सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएकी छन्।


