Wednesday, July 29, 2026
Homeअन्तराष्ट्रियजापानमा शक्तिशाली भूकम्प: १३ जनाको मृत्यु, व्यापक भौतिक क्षति

जापानमा शक्तिशाली भूकम्प: १३ जनाको मृत्यु, व्यापक भौतिक क्षति

टोकियो । जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। भूकम्पका कारण भवन, सडक, पुल, औद्योगिक प्रतिष्ठान तथा ऐतिहासिक सम्पदामा व्यापक क्षति पुगेको छ।

स्थानीय समयअनुसार मंगलबार अपराह्न ४ः२७ बजे गएको भूकम्पको केन्द्रविन्दु जमिनको करिब १० किलोमिटर गहिराइमा रहेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड जनाएको छ भने जापानी अधिकारीहरूले ७.१ म्याग्निच्युड मापन भएको बताएका छन्।

सबैभन्दा बढी क्षति कासिमा सहरस्थित एओन सपिङ मलमा पुगेको छ। भूकम्पपछि ग्यास विस्फोट हुँदा भवनको छाना र पर्खाल भत्किएका छन्। ग्राहक र कर्मचारीलाई बाहिर निकालिएपछि विस्फोट भएको बताइए पनि भवनभित्र अझै केही कर्मचारी फसेको आशंका गरिएको छ। जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।

यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ। कारखानाको धुवाँ निकाल्ने संरचनाको एक भाग भत्किएको छ भने त्यहाँ कार्यरत नौ जना कर्मचारीको अवस्था अझै अज्ञात रहेको स्थानीय प्रशासनले जनाएको छ।

भूकम्पका कारण ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भाग भत्किएका छन्। साथै, सडक चर्किने, पुलमा क्षति पुग्ने, पैदल यात्रु पुल नदीमा खस्ने, आगलागी हुने तथा मालवाहक रेल दुर्घटनामा पर्ने घटनासमेत भएका छन्।

विपद्का कारण कुमामोतो क्षेत्रमा ३६ हजारभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ। बुधबार बिहानसम्म ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत् आपूर्ति पुनः सञ्चालन हुन सकेको छैन।

उद्धार, राहत तथा क्षतिको मूल्याङ्कनका लागि जापानी रक्षा मन्त्रालयले तीन हजार ६०० सैनिक र २० वटा सैन्य विमान परिचालन गरेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकहरूमध्ये एक हो। विश्वभर हुने करिब १८ प्रतिशत भूकम्प जापान र यस आसपासको क्षेत्रमा जाने गर्छन्।

सन् २०११ मा जापानमा गएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो। उक्त विपद्ले फुकुसिमा आणविक विद्युत् केन्द्रमा गम्भीर दुर्घटना पनि निम्त्याएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका