जापान । जापानकी प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै आगामी फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छन्। हालैका वर्षहरूमा कमजोर बन्दै गएको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनले आफ्नो उच्च लोकप्रियताको सदुपयोग गर्न खोजेको विश्लेषकहरूले बताएका छन्।
यद्यपि, यस निर्णयका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने तथा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समयका लागि स्थगित हुने देखिएको छ।
गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ। तर यस अवधिमै उनले करिब ७० प्रतिशत अनुमोदन दर कायम राखेकी छन्, जसलाई उल्लेखनीय राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।
प्रधानमन्त्री ताकाइचीको ताइवानसमर्थक अभिव्यक्तिपछि चीनसँग जापानको सम्बन्ध चिसिँदै गएको छ। साथै, क्षेत्रीय सैन्य प्रभाव विस्तार गर्ने प्रतिस्पर्धामा संयुक्त राज्य अमेरिका र चीन दुवै सक्रिय रहँदा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणबीच रक्षा खर्च बढाउने चाहना पनि सार्वजनिक गरेकी छन्।
चार सय ६५ सदस्यीय तल्लो सदन विघटन भएसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ। सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गरेलगत्तै सांसदहरूले उभिएर ‘बान्जाइ’ (दीर्घायु) भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारी सुरु गरेका थिए।
बहुमत विस्तार गर्ने ताकाइचीको लक्ष्य
प्रधानमन्त्री ताकाइचीले प्रारम्भिक चुनावको मुख्य उद्देश्य दुई सदनात्मक संसद्को तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको स्पष्ट पारेकी छन्। उनको लोकप्रियताले यस लक्ष्यमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
सन् २०२४ को चुनावमा पराजय भोगेको र भ्रष्टाचार काण्डका कारण आलोचित बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र यसको गठबन्धनसँग हाल तल्लो सदनमा झिनो बहुमत मात्र छ। माथिल्लो सदनमा बहुमत नहुँदा सरकारलाई नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलको सहयोगमा निर्भर रहनु परेको अवस्था छ।
विपक्षी दलका नेताहरूले प्रमुख आर्थिक कार्यक्रमका लागि आवश्यक बजेट पारित गर्न ढिलाइ गरेको भन्दै प्रधानमन्त्री ताकाइचीको आलोचना गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “जनताले म प्रधानमन्त्री बन्न योग्य छु कि छैन भन्ने निर्णय यही चुनावमार्फत गर्नेछन्। मैले मेरो सम्पूर्ण राजनीतिक करियर यस निर्णयसँग जोडेकी छु।”
कट्टर रूढीवादी धारणा राख्ने ताकाइचीले आफ्ना मध्यमार्गी पूर्ववर्ती शिगेरु इसिबासँगको वैचारिक भिन्नता प्रस्ट पार्दै जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउन वित्तीय खर्च विस्तार, सैन्य संरचना सुदृढीकरण र कडा आप्रवासन नीति आवश्यक रहेको बताइन्।
उत्साही र निर्णायक नेतृत्व शैलीका कारण विशेषगरी युवा पुस्तामाझ उनको लोकप्रियता बलियो देखिएको छ। तर, राजनीतिक कोषसम्बन्धी घोटालाबाट एलडिपी अझै पूर्ण रूपमा मुक्त हुन नसकेकाले परम्परागत समर्थक मतदातामध्ये केही विश्वव्यापीकरणविरोधी सान्सेइतो जस्ता उदीयमान अति-दक्षिणपन्थी विपक्षी दलतर्फ आकर्षित भएका छन्।
— एपी / रासस


