एजेन्सी । जापानका विभिन्न क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जुन सन् २०१० यता सबैभन्दा लामो यस्तो अवधि हो।
शनिबार सार्वजनिक विवरणअनुसार मध्य जापानका छ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि मापन गरिएको छ। तीमध्ये शिजुओका, गिफु, मिए र आइची गरी टोकाइ क्षेत्रका चारै प्रान्त समावेश छन्।
सबैभन्दा बढी तापक्रम गिफु प्रान्तको मिनो सहरमा ४०.८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। त्यस्तै, ताजिमीमा ४०.७ डिग्री, मिए प्रान्तको कुओआनामा ४०.६ डिग्री, शिजुओकाको हमामात्सुमा ४०.३ डिग्री तथा आइचीको टोयोटामा ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
यसैगरी, यामानाशी प्रान्तको कोफु सहरमा पनि तापक्रम ४०.० डिग्री सेल्सियस पुगेको मौसम एजेन्सीले जनाएको छ।
सन् २०१० देखि तुलनात्मक तथ्याङ्क संकलन हुन थालेयता लगातार पाँच दिनसम्म ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड भएको यो पहिलो घटना हो। मौसमविद्हरूले अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। (सीसीटीभीप्लस)


