Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियजापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यामा दोषी यामागामीलाई आजीवन कैद

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यामा दोषी यामागामीलाई आजीवन कैद

काठमाडौं । जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ।

सन् २०२२ मा भएको उक्त घटनाले जापान मात्र होइन, विश्व समुदायलाई समेत स्तब्ध बनाएको थियो। ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए। सरकारी वकिलहरूले यो घटनालाई “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व हत्या”को संज्ञा दिँदै समाजमा गहिरो असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए, जसलाई अदालतले सदर गरेको हो।

यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए। घटनापछि जापानको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको थियो। नारा प्रान्तका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा “नकार्न नसकिने कमजोरी” रहेको स्वीकार गर्दै घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए।

जापान विश्वकै सुरक्षित मुलुकमध्ये एक मानिन्छ र यहाँ बन्दुकसम्बन्धी कानुन अत्यन्त कडा छन्। तर सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी सभामा भाषण सुरु गरेको केही मिनेटमै आबेलाई पछाडिबाट नजिकैबाट गोली हानिएको थियो।

६७ वर्षीय आबेलाई गम्भीर अवस्थामा अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन र उनलाई मृत घोषणा गरिएको थियो। प्रहरीका अनुसार यामागामीले अनुसन्धानका क्रममा शान्त रूपमा बयान दिँदै आबेमाथि आक्रमण गरेको स्वीकार गरेका थिए।

उनले पूर्व प्रधानमन्त्री आबेको कुनै एक संस्थासँग सम्बन्ध रहेको भन्ने अफवाहका आधारमा हत्या योजना बनाएको बताएका छन्, यद्यपि उक्त संस्थाको नाम सार्वजनिक गरिएको छैन। अदालतको फैसलापछि जापानमा राजनीतिक नेताहरूको सुरक्षा तथा सार्वजनिक सभाको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका