Sunday, September 6, 2026
Homeसामाचारजलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि आजै राति टोली पठाइने

जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि आजै राति टोली पठाइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि आजै रातिसम्म उद्धार टोली सुरुङभित्र प्रवेश गर्ने बताएका छन्।

जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिका परिवारसँगको भेटमा मन्त्री श्रेष्ठले उद्धारका लागि राति पनि काम भइरहेको जानकारी दिए। उनले आज साँझसम्म सुरुङसम्म पुग्ने सम्भावना रहेको बताए।

मन्त्री श्रेष्ठका अनुसार सुरुङमा फसेकाको उद्धारका लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयका उच्च तहका विज्ञ अधिकारीसमेत परिचालन गरिएको उनले बताए।

सुरुङबाट उद्धारका लागि नेपाली सुरक्षा संयन्त्रसँगै चीन र भारतबाट आएका उद्धार टोलीसमेत परिचालन गरिएको छ। आवश्यक स्रोत, साधन तथा समन्वयका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताए।

सुरुङभित्र फसेका नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उद्धारअघि नै कुनै माध्यमबाट सुरुङभित्र अक्सिजन पुर्‍याउने प्रयास भइरहेको बताए।

मन्त्री श्रेष्ठसँगको भेटमा पीडित परिवारका सदस्यले तीनबुँदे मागसमेत राखेका छन्। उनीहरूले सुरुङभित्र फसेकाहरू जीवित वा मृत्युको अवस्थामा रहेकोबारे नियमित सूचना दिनुपर्ने, सुरुङभित्र बाँच्न सक्ने वातावरण बनाउनुपर्ने तथा उद्धारका लागि आवश्यक उपकरण तत्काल व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अनुसार रसुवामा आएको बाढीबाट करिब एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीका कारण ती आयोजनामा ६ सयभन्दा बढी मजदुर फसेको तथ्यांक रहेको संघले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका