काठमाडौं । हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्याल आफ्नै जन्मदिनको दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसहित अहिले आधार शिविरमा तयारीमा जुटेका छन्।
आगामी मे १९ मा जन्मदिन मनाउन लागेका अर्याल सोही दिन सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यसहित आरोहणपूर्व अभ्यासमा व्यस्त छन्। खुम्बु हिमपहिरो मार्ग खुलेसँगै उनले कठिन यात्राको तयारीलाई तीव्र बनाएका हुन्।
अर्यालले आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीको संख्या बढी देखेपछि आफूलाई पनि सगरमाथा चढ्ने प्रेरणा मिलेको बताए।
उनले आधार शिविरमा पुगेपछि त्यहाँ नेपालीभन्दा विदेशी आरोही धेरै देख्दा अचम्म लागेको अनुभव सुनाए। विदेशी आरोहीहरूसँग कुराकानी गर्दा अधिकांशले “संसारको सबैभन्दा अग्लो स्थानबाट पृथ्वीलाई हेर्ने अनुभव लिन” आएको बताएका थिए।
अर्यालले भने, “आफ्नै देशको सगरमाथामा नेपालीभन्दा विदेशी धेरै देख्दा मलाई पनि नेपाली भएका नाताले सगरमाथा चढ्नुपर्छ भन्ने भावना आयो।”
हालसम्मको यात्रा सहज र उत्साहजनक रहेको भए पनि अबको चरण बढी कठिन र जोखिमपूर्ण हुनसक्ने उनी बताउँछन्।
उनका अनुसार अब पहिलो शिविरतर्फको यात्रा सुरु भएपछि हिमालको वास्तविक चुनौती सामना गर्नुपर्नेछ। मौसम र जोखिमलाई ध्यानमा राख्दै उनी अहिले आधार शिविरमै आवश्यक अभ्यास गरिरहेका छन्।
अर्यालले भने, “अहिलेसम्म खासै गाह्रो भएको छैन। तर अबको यात्रा चुनौतीपूर्ण हुन सक्छ। त्यसका लागि तयारी गरिरहेका छौँ।”
उनका लागि सगरमाथा आरोहण जीवनकै सबैभन्दा ऐतिहासिक र सम्झनायोग्य यात्रा बन्ने विश्वास छ। योजना अनुसार सबै कुरा सफल भए जन्मदिनकै दिन सगरमाथाको शिखरमा पाइला टेक्ने उनको लक्ष्य रहेको छ।


