जनकपुरधाम। जनकपुरमा आन्दोलनरत हिन्दु धार्मिक मोर्चा र सरकारबीच वार्तापछि सहमति भएको छ। विभिन्न १३ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएको मोर्चासँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ शनिबार जनकपुर पुगेका थिए।
दुई चरणमा भएको वार्तापछि दुवै पक्षबीच सहमति भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भूदेव झाले जानकारी दिए।
आन्दोलनरत पक्षले सरकारसमक्ष १३ बुँदे मागपत्र प्रस्तुत गरेको थियो। सहमतिअनुसार १२ वटा माग तत्काल कार्यान्वयनको प्रक्रिया अघि बढाउने विषयमा सरकारले गृहकार्य सुरु गर्ने भएको छ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागका विषयमा भने सरकारले थप अध्ययन र परामर्शका लागि तीन महिनाको समय मागेको थियो। उक्त प्रस्तावमा आन्दोलनरत पक्षले पनि सहमति जनाएको बताइएको छ।
वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधिसभा सदस्य, मधेश प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
सुनसरी घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएको हिन्दु धार्मिक मोर्चाले विभिन्न धार्मिक तथा सामाजिक मागसँगै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग उठाएको थियो।
यसअघि शनिबार आयोजित सर्वपक्षीय सद्भाव र्यालीका क्रममा आन्दोलनरत युवाहरूले कार्यक्रमस्थलमै नाराबाजी गरेका थिए। त्यसपछि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मनिष झाले आन्दोलनरत पक्षसँग छलफल गरी वार्ताको वातावरण तयार पारेका थिए।


