काठमाडौंः जडिबुटीमा शुक्रबार बिहान रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र–०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरीश पौडेल र पछाडि सवार काभ्रे पाँचखाल–२ घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन् ।
गम्भीर घाइते दुवैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको स्कुटर सडकमा रोकिराखेको बसको पछाडि ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।


