Saturday, November 7, 2026
Homeसामाचारछ पटक म्याद थपिएपछि बागलुङको रेश सडकमा कालोपत्र सुरु

छ पटक म्याद थपिएपछि बागलुङको रेश सडकमा कालोपत्र सुरु

बागलुङ — निर्माण व्यवसायीको लापरबाहीका कारण लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडकमा अन्ततः कालोपत्र सुरु गरिएको छ।

सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको उक्त सडकमा हाल धमाधम ग्राभेल र पूर्वाधार मर्मत कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर विनोद लामिछानेले जानकारी दिए।

२०७७ जेठमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी जोशी/निशान/आचार्य जेभी सँग ६ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर, कोरोना महामारी, आर्थिक समस्या र भुक्तानीमा ढिलाइका कारण निर्माण कार्य रोकिएको थियो। सम्झौता अवधिभर काम अघि नबढेकाले म्याद छ पटक थपिएको हो।

एक वर्षसम्म फिल्डमा नदेखिएका निर्माण व्यवसायी पुनः काममा फर्किएपछि कालोपत्रको तयारी सुरु गरिएको इन्जिनियर लामिछानेले बताए। पूर्वाधार निर्माण पहिले नै पूरा भए पनि समयमै कालोपत्र नहुँदा सडक र संरचनाहरू जीर्ण बनेका थिए।

हालसम्म सडकको ७० प्रतिशत भौतिक र ६५ प्रतिशत आर्थिक प्रगति भएको छ। इन्जिनियर लामिछानेका अनुसार १४औँ खरिद संशोधनलाई आधार मानेर अन्तिम पटक म्याद थप गरिएको हो।

निर्माण व्यवसायी प्रकाश आचार्यले कोभिड–१९, भुक्तानी समस्या र कच्चा सामग्रीको अभावका कारण ढिलाइ भएको बताउँदै अब आवश्यक उपकरण र सामग्री तयारी भएकाले छिट्टै काम सम्पन्न गरी सडक हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

उक्त सडक बरेङ–शान्तिपुर जाने मुख्य मार्गका रूपमा पनि प्रयोग हुँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका