Thursday, May 7, 2026
Homeराजनीतिच्यासलको एमाले केन्द्रीय कार्यालय फेरि सर्ने तयारीमा

च्यासलको एमाले केन्द्रीय कार्यालय फेरि सर्ने तयारीमा

काठमाडौं । नेकपा एमालेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय पुनः स्थानान्तरण हुने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा रहेका तर लिज सम्झौतामा रूपान्तरण नभएका सरकारी जग्गा तथा भवन खाली गर्न सूचना जारी गरेपछि एमाले नयाँ कार्यालयको खोजीमा जुटेको हो।

मन्त्रालयको पछिल्लो सूचनापछि कानुनी रूपमा लिज प्रक्रियामा नगएका सरकारी संरचना खाली गर्नुपर्ने अवस्था बनेको छ। एमाले स्रोतका अनुसार हालसम्म औपचारिक पत्र नआए पनि सरकारको सार्वजनिक सूचनालाई ध्यानमा राख्दै पार्टीले वैकल्पिक कार्यालय खोज्न सुरु गरिसकेको छ।

तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले भने उक्त भवन मन्त्रिपरिषद्को निर्णयअनुसार नै प्रयोग भइरहेको बताएका छन्। उनका अनुसार ५० वर्षका लागि लिजमा लिन प्रयास भए पनि सरकारले प्रक्रिया अघि नबढाएको र भवन निर्माणमा समेत सरकारी सहयोग रहेको छ।

२०७२ सालको भूकम्पपछि बल्खुस्थित आफ्नै मुख्यालय भत्किएपछि एमाले स्थायी कार्यालयविहीन बनेको थियो। त्यसपछि पार्टीले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान, थापाथली हाइटस्थित निजी घर हुँदै २०७८ सालमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सारेको थियो।

यसअघि स्थायी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान गर्दै करिब एक अर्ब रुपैयाँ लागतमा भवन निर्माण गरिदिने घोषणा गरेका थिए। २०८१ असोजमा शिलान्यास गरिएको उक्त भवन एक वर्षभित्र हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो।

तर बदलिएको राजनीतिक र सामाजिक परिस्थितिका कारण उक्त योजना प्रभावित बनेको छ। २०८२ भदौमा भएको ‘जेनजी आन्दोलन’पछि भाटभटेनीलगायत संरचनामा आक्रमण भएपछि व्यवसायी गुरुङले आर्थिक तथा व्यावसायिक दबाबका कारण भवन निर्माण योजना अघि बढाउन नसक्ने जानकारी गराइसकेको एमाले स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका