दमक। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बनेको छ। निर्वाचन आयोग ले आगामी १८ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्न समयसीमा तोकेको भए पनि झापा क्षेत्र नम्बर–५ मा आचारसंहिता उल्लंघनको आरोपसहित विवाद चर्किएको छ।
केपी शर्मा ओली सोमबार बिहानदेखि मतदाता भेटघाटका क्रममा दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन्। ओली कार्यकर्तासहित अस्पताल पुगेपछि केही समय काउन्टर, वार्ड तथा इमरजेन्सी सेवा प्रभावित भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सार्वजनिक बिदाका कारण सोमबार बिहानदेखि अस्पतालमा बिरामीको चाप बढेको थियो। बिहान करिब ११ बजेदेखि एमाले निकट युवा संघका कार्यकर्ताहरू अस्पताल गेटमा झण्डा-ब्यानरसहित भेला भएका थिए। सेवाग्राहीहरूले लामो समय लाइनमा बसे पनि सेवा बन्द भएपछि समस्या झन् बढेको बताएका छन्।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार अस्पताल, विद्यालय तथा अन्य संवेदनशील सार्वजनिक स्थलमा राजनीतिक भेला वा प्रचार–प्रसार गर्न निषेध गरिएको छ। झापा निर्वाचन कार्यालयले सेवा प्रभावित भएको प्रमाणित भए आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
अस्पताल प्रशासनले भने सेवा लामो समय अवरुद्ध नभएको दाबी गरेको छ। अस्पतालका सूचना अधिकारीका अनुसार कार्यक्रम अस्पताल बाहिर केन्द्रित गरिएको थियो र केही समय मात्र प्रभाव परेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा–५ निर्वाचन परिचालन समिति संयोजक देबेन्द्र दाहालले ओली चुनाव प्रचारका लागि नभई अस्पताल निरीक्षण गर्न गएको दाबी गरेका छन्।
यसअघि दमकस्थित एक विद्यालयमा पनि राजनीतिक कार्यक्रम गरिएको भन्दै आलोचना भएको थियो। यता बालेन्द्र शाह विरुद्ध समेत भीड व्यवस्थापनका कारण सडक अवरुद्ध भएको आरोप लागेको छ।
चुनावी गतिविधिका कारण सार्वजनिक सेवा प्रभावित भएको घटनाले मतदातामाझ राजनीतिक दलहरूको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ।


