इनरुवा (सुनसरी)। केही दिनदेखि चिसो बढेसँगै सुनसरी जिल्लाको जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवा सहित भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्ज लगायतका स्थानमा जनजीवन अस्तव्यस्त भएको छ।
स्थानीयवासीका अनुसार चिसोले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूमा झनै असर गरेको छ। इनरुवाका मनोज यादवले चिसोले विशेष गरी ज्यालादारी मजदुरहरू बढी प्रभावित भएको बताउनुभएको छ। अत्यधिक चिसोका कारण काममा जान समस्या भइरहेको भन्दै स्थानीय चन्दन मेहताले मानिसलाई घरबाट बाहिर निस्कन समेत कठिनाइ भएको बताए।
कोशी–७ का झगडु सदा भन्छन्, “चिसो र बाक्लो हुस्सुका कारण दैनिकी मजदुरी गरेर परिवार पाल्न गाह्रो भइरहेको छ। घरबाट बाहिर निस्कनै समस्या हुने स्थिति छ।”
सशस्त्र प्रहरीद्वारा राहतस्वरूप दाउरा वितरण
चिसोबाट प्रभावित स्थानीयलाई राहत पुर्याउन सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले दाउरा वितरण गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार लौकही, घुस्की, देवानगञ्ज लगायतका सीमा क्षेत्रका स्थानीयवासीलाई आगो ताप्नका लागि दाउरा वितरण गरिएको छ।
सशस्त्र प्रहरीद्वारा चिसोको समयमा राहतस्वरूप प्रदान गरिएको दाउरा वितरण कार्यक्रमले स्थानीयवासीलाई केही हदसम्म राहत दिएको छ।


