काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी प्रचार अभियान सुरु गरेका छन्।
शुक्रबार चितवन–२ का विभिन्न स्थानमा स्थापना गरिएका पार्टी कार्यालयहरूको उद्घाटन गर्दै लामिछानेले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको राजनीतिक प्रतिस्पर्धा कुनै दल वा उम्मेदवारसँग नभई गरिबी, अशिक्षा, बेरोजगारीलगायत देशका जटिल समस्यासँग हुने बताएका छन्।
लामिछानेले चुनावी अभियानका क्रममा सभ्य र संयमित व्यवहार अपनाउन कार्यकर्तालाई आग्रह गर्दै कसैलाई गालीगलौज नगर्न तथा अरूले गाली गरे पनि प्रतिक्रिया नदिन अनुरोध गरे। उनले मतदातालाई आफ्नो समर्थन मतदानको दिन मतपत्रमा छाप लगाएर व्यक्त गर्न आग्रह गरे।
उनले निर्वाचनको सिलसिलामा देशका विभिन्न स्थानमा जानुपर्ने भएकाले चितवनका मतदातासँग धेरै भेटघाट गर्न नपाउने उल्लेख गर्दै आफूलाई समर्थन गरी मत दिन आग्रह गरेका छन्।


