Sunday, November 8, 2026
Homeसामाचारचितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

काठमाडौँ, ८ साउन – चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८१/०८२ को अवधिमा गैँडा, हात्ती, बाघलगायत वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, सबैभन्दा धेरै ८ जनाको मृत्यु गैँडाको आक्रमणबाट भएको हो। हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ।
त्यसै अवधिमा ४१ जना मानिस वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन्। तीमध्ये ३२ जना गम्भीर घाइते र ९ जना सामान्य घाइते रहेका छन्।

मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न वा निगुरो टिप्न जंगल गएका स्थानीय बासिन्दा रहेको निकुञ्जले जनाएको छ। बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही र गौरीगाईजस्ता जनावरको आक्रमणमा परेका छन्।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार, चितवन निकुञ्ज क्षेत्रमा ७३ जनाले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका छन् भने १६९ जना घाइते भएका छन्। सबैभन्दा धेरै मृत्यु २०७८/७९ मा भएको थियो, जब बाघको आक्रमणमा मात्र २१ जनाले ज्यान गुमाएका थिए।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू वन तथा सामुदायिक वनको अनुमति लिएर घाँस, दाउरा संकलन गर्न जंगल जान्छन्।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थान व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
निकुञ्जले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै मेस जाली लगाउने कामसमेत गरिरहेको जानकारी दिएको छ।

गत वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १७९ वटा घरपालुवा पशु मरेका छन्। तीमध्ये सबैभन्दा धेरै, १४० वटा, चितुवाको आक्रमणबाट मरेका हुन्। बाघको आक्रमणबाट ३७ र अजिङ्गरको आक्रमणबाट २ वटा पशु मरेको जानकारी अधिकारी थापा मगरले दिनुभयो।

त्यस्तै, गत वर्ष २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको छ। तीमध्ये १३ वटा घरको अन्न भण्डारण स्थलमा समेत हात्तीले क्षति पुर्‍याएको निकुञ्जको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका