चितवन, ६ मङ्सिर — चितवनको माडी नगरपालिका–१ गर्दीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट माडी–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खसेको थियो, जसका कारण बसमा सवार दुई जना घाइते भएका छन्। घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
बस चालक भने घटनापछि फरार रहेका कारण उनको खोजी जारी छ।


