Saturday, November 7, 2026
Homeसामाचारचालु आर्थिक वर्षमा तीन नयाँ प्रसारण लाइन निर्माणको अनुमति

चालु आर्थिक वर्षमा तीन नयाँ प्रसारण लाइन निर्माणको अनुमति

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन वटा नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्त्वपूर्ण मानिएको नलगाड–मैनताडा प्रसारण लाइन निर्माणको अनुमति दिएको हो। ७५ किलोमिटर लामो यो प्रसारण लाइन ४०० केभी क्षमताको हुनेछ र यसले २,४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्नेछ। सो लाइनको निर्माण राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले गर्नेछ।

त्यसैगरी, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति प्रदान गरिएको छ। चार दशमलव ३८ किलोमिटर लामो उक्त प्रसारण लाइनले ४.८ मेगावाट बिजुली प्रवाह गर्नेछ। जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यो प्रसारण लाइन निर्माण हुँदैछ।

यस्तै, सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोड्नका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अनुमति पाएको छ। यस लाइनमार्फत २.९ मेगावाट बिजुली प्रवाह हुनेछ।

विभागका अनुसार हालसम्म २७४ वटा साना र ठूला प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरिएको छ।

चालु आर्थिक वर्षमा अहिलेसम्म आठ वटा प्रसारण लाइन परियोजनाका लागि सर्वेक्षण अनुमति पनि दिइएको छ। तीमध्ये प्रमुख परियोजनामा मध्य चमेलिया १३२ केभी, दुधकोशी पाँचौँ २२० केभी, समुन्द्रटार–लप्सेफेदी २३२ केभी, र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना रहेका छन्।

विभागले हालसम्म कुल १४४ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति प्रदान गरिसकेको छ, भने २१ नयाँ प्रसारण लाइनका आवेदन विभागमा दर्ता भएका छन्। तीमध्ये चालु आर्थिक वर्षमा मात्र ११ परियोजनाले अनुमति मागेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका