Sunday, July 19, 2026
Homeअन्तराष्ट्रियचङ्गा उडाउने धागोले १५ वर्षका बालकको घाँटी छिनाउँदा मृत्यु

चङ्गा उडाउने धागोले १५ वर्षका बालकको घाँटी छिनाउँदा मृत्यु

काठमाडौं । चङ्गा उडाउने क्रममा प्रयोग हुने प्रतिबन्धित चिनियाँ धागो (सिन्थेटिक मान्झा) का कारण १० कक्षामा अध्ययनरत १५ वर्षीय बालकको ज्यान गएको छ भने उनका एक साथी गम्भीर घाइते भएका छन्।

शनिबार लुधियाना–चण्डीगढ राजमार्गअन्तर्गत चहलान गाउँ नजिक मोटरसाइकलमा घर फर्किँदै गर्दा रोहला गाउँका तारनजोत सिंहको घाँटीमा धारिलो मान्झा बेरिँदा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि बसेका उनका साथी प्रभजोत सिंह पनि घाइते भएका छन् र हाल समराला सिभिल अस्पतालमा उपचाररत छन्।

तारनजोत आफ्ना आमाबाबुको एक मात्र छोरा थिए। घटनास्थलमा पुगेका समराला प्रहरी चौकीका प्रमुख हरविन्दर सिंहले मृत्युको कारण पुष्टि गरेका छन्। तर, प्रतिबन्धित मान्झा अझै बजारमा उपलब्ध हुनुका कारणबारे स्पष्ट जवाफ दिन सकेनन्। उनले नियमित अनुगमन भइरहेको दाबी मात्र गरे।

घटनापछि पीडित परिवारले स्थानीय प्रशासन र प्रहरीको लापरबाहीको आरोप लगाएका छन्। “यदि प्रतिबन्धित डोरीको बिक्रीमा कडाइ गरिएको भए मेरो छोरा आज जीवित हुन्थ्यो,” परिवारका एक सदस्यले भने। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।

यसैबीच, अर्काे छुट्टै घटनामा हैडोन गाउँ नजिक जोनेवालका चरणजित गिरीको औंलामा मान्झा बेरिँदा गहिरो चोट लागेको छ। विवाह समारोहबाट फर्किँदै गर्दा उनी घाइते भएका हुन्। उनको पनि समराला नागरिक अस्पतालमा उपचार भइरहेको छ।

यी घटनाले प्रतिबन्धित चिनियाँ मान्झाको खुलेआम बिक्री र यसको नियन्त्रणमा प्रशासनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका