लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बनाउन सही नीति र नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
दक्षिणपूर्वी लन्डनमा ‘नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक छलफलमा सहभागी हुँदै उनले करिब एक दशकअघि नेपालले दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोगेको तर संस्थागत सुधार, दक्ष व्यवस्थापन र सेवाप्रतिको प्रतिबद्धताबाट समस्या अन्त्य गर्न सफल भएको स्मरण गरे।
उनका अनुसार विद्युत पहुँच ५६ प्रतिशतबाट झण्डै १०० प्रतिशत पुगेको छ भने प्राधिकरण घाटाबाट नाफामा पुगेपछि प्रसारण र उत्पादनमा पुनः लगानी सम्भव भएको छ। हाल नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको छ, र प्राप्त ऊर्जा प्रायः स्वच्छ तथा नवीकरणीय स्रोतबाट आएको छ।
फर्पिङ (१९११) र सुन्दरीजल (१९३९) जलविद्युत आयोजना मार्फत ब्रिटिश सहयोगसँगै सुरु भएको नेपालको जलविद्युत यात्रा आज ३,८०० मेगावाटभन्दा बढी क्षमतासम्म पुगेको उनले बताए। २०३५ सम्म २८,५०० मेगावाट पुर्याउने लक्ष्यसहित १५,००० मेगावाट निर्यात गर्ने तयारी भएको उल्लेख गर्दै उनले भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको र बङ्गलादेशमा निर्यात सुरु भइसकेको बताए। भुटानसहित क्षेत्रीय ऊर्जा मार्ग खुलेको र चीनसँग जोडिने सम्भावना रहेको समेत उनले बताए।
उनले नेपालले हरित हाइड्रोजनलाई भविष्यको ऊर्जा स्रोतका रूपमा अध्ययन गरिरहेको जानकारी दिँदै जलवायु परिवर्तनसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकोमा जोड दिए।
कार्यकाल सकिन चार महिना बाँकी रहँदा अनपेक्षित रूपमा पदबाट हटाइएको अनुभव सुनाउँदै उनले यसले राजनीतिक अस्थिरता र जवाफदेहिताको कमी देखाएको बताए। “नेपालका युवालाई परिणाम दिने नेतृत्व चाहिएको छ, त्यसैले उज्यालो नेपाल अभियानमार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु,” उनले भने।
कार्यक्रममा युसीएलका प्राध्यापक डा. तेजेन्द्र फेरालीले लोडसेडिङ अन्त्यमा घिसिङको नेतृत्वको प्रशंसा गरे। त्यस्तै, विश्व चेसका ग्र्याण्ड मास्टर ७७ वर्षीय रेमण्ड कीनले घिसिङलाई सम्मानपत्र र टोनी बुजन मेडल प्रदान गरे। कार्यक्रममा हाउस अफ लर्ड्सका सदस्य लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ता हकले मन्तव्य राखे भने पानस हेल्पिङ ह्यान्डका सुजन कटुवालले धन्यवाद ज्ञापन गरे।


