Monday, July 20, 2026
Homeअन्तराष्ट्रियग्रिनल्यान्डलाई लिएर ट्रम्पको कडा चेतावनी: ‘अमेरिकाले कदम नचाले रूस–चीनले कब्जा गर्छन्’

ग्रिनल्यान्डलाई लिएर ट्रम्पको कडा चेतावनी: ‘अमेरिकाले कदम नचाले रूस–चीनले कब्जा गर्छन्’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डको विषयमा कडा र आक्रामक अभिव्यक्ति दिएका छन्। अमेरिकाले समयमै कदम नचाले रूस वा चीनले ग्रिनल्यान्ड कब्जा गर्न सक्ने दाबी गर्दै उनले त्यसो हुन नदिने चेतावनी दिएका हुन्।

तेल तथा ग्यास क्षेत्रका शीर्ष कार्यकारीहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “ग्रिनल्यान्डको विषयमा हामी केही न केही गर्नेछौं—उनीहरूलाई मन परोस् वा नपरोस्। यदि हामीले केही गरेनौं भने रूस वा चीनले त्यहाँ कब्जा जमाउनेछन्, र हामीलाई रूस वा चीन छिमेकी चाहिँदैन।”

डेनमार्कप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले ऐतिहासिक स्वामित्वको दाबीप्रति प्रश्न उठाए। “म डेनमार्कको समर्थक हुँ, उनीहरू मप्रति राम्रो छन्। तर ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेको भन्दैमा त्यो जमिन उनीहरूको हुन्छ भन्ने हुँदैन। हामीका पनि धेरै डुंगा त्यहाँ पुगेका थिए,” ट्रम्पले टिप्पणी गरे।

उनले ग्रिनल्यान्ड वरिपरि रूसी र चिनियाँ युद्धपोत तथा पनडुब्बीको गतिविधि बढेको दाबी गर्दै अमेरिकाले यस्तो अवस्था स्वीकार नगर्ने स्पष्ट पारे। ग्रिनल्यान्डलाई किन स्वामित्वमा लिनुपर्छ भन्ने प्रश्नमा ट्रम्पले भने, “स्वामित्व भएको कुरा मात्रै मजबुत रूपमा रक्षा गर्न सकिन्छ। यदि हामीले गरेनौं भने चीन वा रूसले गर्नेछन्, तर त्यो हुन दिइनेछैन।”

नाटोबारे बोल्दै ट्रम्पले आफू संगठनको समर्थक रहेको दाबी गरे। “म नभएको भए नाटो रहने थिएन। मैले नै नाटोलाई बचाएँ,” उनले भने।

प्राकृतिक स्रोतसाधनले धनी अर्ध-स्वायत्त डेनिस भूभाग ग्रिनल्यान्डमा दुर्लभ खनिज, युरेनियम र फलामजस्ता महत्वपूर्ण स्रोतहरू रहेको बताइन्छ। सन् २०१९ मा पहिलो कार्यकालका क्रममा ट्रम्पले ग्रिनल्यान्ड खरिद गर्ने प्रस्ताव गरेका थिए, तर डेनमार्कले त्यसलाई अस्वीकार गरेको थियो।

युरोपसम्बन्धी प्रश्नमा ट्रम्पले वायु ऊर्जाप्रति पनि कडा आलोचना गरे। “म वायु चक्कीको समर्थक होइन। राष्ट्रपति भएपछि एउटा पनि वायु चक्की अनुमोदन गरिएको छैन र अब पनि गरिने छैन,” उनले भने। उनका अनुसार वायु चक्की घाटामूलक हुन्छन्, प्राकृतिक दृश्य बिगार्छन्, चराचुरुङ्गी मार्छन् र अधिकांश चीनमा निर्माण हुन्छन्।

यसैबीच, ट्रम्पले बुधबार अमेरिकाका हितविपरीत रहेका अन्तर्राष्ट्रिय संस्था, महासन्धि र सम्झौताबाट बाहिरिने निर्देशनसहित राष्ट्रपतीय स्मरणपत्रमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसका अनुसार अमेरिका ३५ गैर–संयुक्त राष्ट्रसंघीय संस्था र ३१ संयुक्त राष्ट्रसंघीय निकायबाट बाहिरिने तयारीमा छ।

उक्त सूचीमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN), अन्तरसरकारी जलवायु परिवर्तन प्यानल (IPCC), अन्तर्राष्ट्रिय ऊर्जा मञ्च तथा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीजस्ता संस्थाहरू समावेश छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका