काठमाडौं। अमेरिकाले नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्ड (NORAD) को विमान ग्रिनल्याण्डस्थित पिटुफिक स्पेस बेसमा तैनाथ गर्ने निर्णय गरेको छ। डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्याण्डलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय तनावका बीच यो कदम चालिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणसम्बन्धी अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिमा NORAD ले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै उक्त विमान दीर्घकालदेखि योजनाबद्ध गतिविधिहरूलाई समर्थन गर्न पिटुफिक स्पेस बेसमा पुग्ने जनाएको छ।
NORAD का अनुसार उक्त तैनाथी अमेरिकाका महादेशीय भूभाग र क्यानडास्थित बेसबाट सञ्चालन हुने विमानहरूसँग समन्वय गर्दै विभिन्न सुरक्षा गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो। यसका लागि डेनमार्क र ग्रिनल्याण्ड सरकारसँग आवश्यक समन्वय तथा कूटनीतिक स्वीकृति लिइएको पनि जनाइएको छ।
NORAD ले अलास्का, क्यानडा र महादेशीय अमेरिकामा नियमित रूपमा दीर्घकालीन तथा विकेन्द्रित सैन्य गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै हालको तैनाथी पनि सोही अभ्यासको निरन्तरता भएको बताएको छ।
अमेरिकी निर्णय ग्रिनल्याण्डमा हालै डेनमार्कको नेतृत्वमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यासपछि आएको हो। उक्त अभ्यासमा जर्मनी, स्विडेन, फ्रान्स, नर्वे, नेदरल्यान्ड्स र फिनल्याण्डले सीमित संख्यामा सैनिक पठाएका थिए। आर्कटिक क्षेत्रको सुरक्षा सुदृढ गर्ने उद्देश्यले गरिएको अभ्यासमा डेनमार्कले अमेरिकालाई पनि सहभागी हुन निमन्त्रणा दिएको थियो।
यसैबीच, राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्त आवश्यक रहेको दाबी गर्दै डेनमार्क र अन्य युरोपेली मुलुकहरूमाथि कडा चेतावनी दिएका छन्। ग्रिनल्याण्ड बिक्रीमा सहमति नजनाए डेनमार्कसहित बेलायतलगायत युरोपेली देशहरूमा भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्कीसमेत दिएका छन्।
ट्रम्पका अनुसार चीन र रूसले ग्रिनल्याण्डप्रति चासो देखाइरहेकाले यो क्षेत्र अमेरिकी सुरक्षाका दृष्टिले रणनीतिक रूपमा महत्वपूर्ण बनेको हो। उनले वार्ताका लागि तयार रहेको जनाए पनि सहमति नभए सन् २०२६ फेब्रुअरी १ देखि १० प्रतिशत र जुन १ देखि २५ प्रतिशतसम्म ट्यारिफ बढाउने चेतावनी दिएका छन्। ट्रम्पले “अब डेनमार्कले ग्रिनल्याण्ड फिर्ता दिनुपर्ने समय आएको छ” भन्ने अभिव्यक्तिसमेत दिएका छन्।


