Friday, June 26, 2026
Homeसामाचारगृहमन्त्री लेखक: भूकम्प पुनर्निर्माणलाई सरकारले तीव्रता दिँदै

गृहमन्त्री लेखक: भूकम्प पुनर्निर्माणलाई सरकारले तीव्रता दिँदै

जाजरकोट: गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। उनले भूकम्प पीडितको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालय उद्घाटन गर्दै गृहमन्त्री लेखकले जाजरकोट, रुकुम पश्चिम, र सल्यानका भूकम्प पीडितका लागि विशेष कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले चर्किएका तथा भत्किएका घर सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाए।

गृहमन्त्री लेखकका अनुसार नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा पुनःस्थापना प्राधिकरण, प्रदेश सरकार, र स्थानीय सरकार मिलेर पुनर्निर्माण कार्यलाई अघि बढाउनुपर्ने आवश्यकता छ। उनले विस्तृत क्षति आँकलनको काम छिटो सम्पन्न गरी पुनर्निर्माण तीव्र बनाइने बताए।

प्राविधिक टोली परिचालन

भूकम्पबाट प्रभावित क्षेत्रहरूको विस्तृत क्षति आँकलन गर्न जाजरकोटमा ५० र रुकुम पश्चिममा ४८ जना प्राविधिक परिचालित छन्। प्राविधिक संख्या कम भए थपको व्यवस्था गर्ने आश्वासन दिँदै उनले पुनर्निर्माण कार्यलाई सरकारले द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए।

बजेट र नीति

गृहमन्त्री लेखकले पुनर्निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए। उनले अलपत्र परेका विकास योजनाहरूको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकमार्फत पहल गरिने उल्लेख गरे।

“पुनर्निर्माण कार्यलाई तिव्रता दिई भूकम्प प्रभावितलाई सुरक्षित आवास उपलब्ध गराउने सरकारको लक्ष्य हो,” उनले भने। साथै, विपद् जोखिम न्यूनीकरण कोषलाई बलियो बनाउन स्थानीय सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि पुनर्निर्माण कार्यालय स्थापना गरिएको हो।

समर्थन र प्रतिबद्धता

समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा पुनःस्थापना प्राधिकरणका भिष्मकुमार भुसाल, नेपाली कांग्रेस जाजरकोटका सभापति एवं प्रदेशसभा सदस्य वेदराज सिंह, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टलगायतले पुनर्निर्माण कार्य सुरु भएकामा खुसी व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका