Sunday, November 8, 2026
Homeसामाचारगृहमन्त्रीको निर्देशन: निर्मला पन्त प्रकरणमा सिआइबीलाई गम्भीर र नयाँ ढंगले अनुसन्धान गर्न...

गृहमन्त्रीको निर्देशन: निर्मला पन्त प्रकरणमा सिआइबीलाई गम्भीर र नयाँ ढंगले अनुसन्धान गर्न आदेश

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नयाँ ढंग र गम्भीरताका साथ पुनः अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई निर्देशन दिएका छन्।

आइतबार CIB कार्यालयको निरीक्षणको क्रममा मन्त्री लेखकले निर्मला प्रकरणको सूक्ष्म अध्ययन गरेर दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन निर्देशन दिए। उनले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न र सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गरे।

“CIBप्रति जनविश्वास बढ्दै गएको छ, त्यसलाई कायम राख्दै निष्पक्ष र प्रभावकारी ढंगले काम गर्नुपर्छ,” मन्त्री लेखकले भने।

सीमित स्रोतसाधनबीच पनि CIB ले उल्लेखनीय सफलता हासिल गरिरहेको भन्दै गृहमन्त्रीले ब्युरोलाई थप प्रविधि, जनशक्ति र साधनस्रोत उपलब्ध गराउने मन्त्रालयको तयारी रहेको जानकारी दिए। पछिल्लो समय बढ्दै गएका वित्तीय अपराध नियन्त्रण गर्न ‘वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरिसकेको पनि उनले जानकारी गराए।

“प्रहरीप्रतिको विश्वास बढ्दो छ, त्यसैले देशभरबाट प्रहरी चौकीको माग बढेको छ,” मन्त्री लेखकले भने, “यसै सन्दर्भमा चालु आर्थिक वर्षमा प्रहरीका लागि बजेट पनि विगतको तुलनामा बढी विनियोजन गरिएको छ।”

कार्यक्रममा CIB का वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले हाल ब्युरोले गरिरहेका अनुसन्धान, कारबाही, सफलताको विवरण र चुनौतीबारे प्रस्तुति दिए। उनले निर्मला पन्त प्रकरणसहित अन्य जटिल घटनाहरूमा पनि अनुसन्धान जारी रहेको जानकारी गराए।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, CIB प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा अन्य प्रहरी अधिकारीहरू सहभागी थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका