गाजा । इजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठुलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ अनलाइनमा सार्वजनिक गरेको छ, जसमा नेपालका विपिन जोशीको पनि तस्बिर देखिएको छ ।
यस संकलित तस्बिरमा जीवित र मृतक सबै बन्धकहरूको अनुहार देखाइएको छ, जसको क्याप्सनमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई संकेत गर्दै ‘रोन अरद’ लेखिएको थियो । अरदको एफ-४ फ्यान्टम दक्षिणी लेबनानमा आक्रमणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उनी अमल आन्दोलनद्वारा पक्राउ परेर पछि हिजबुल्लाहलाई सुम्पिएका थिए। उनको मृत्यु भएको विश्वास गरिए पनि ठोस प्रमाण भने छैन ।
हमासले जारी गरेको तस्बिरसँगै एक सन्देश पनि थियो, जसमा भनिएको थियो– ‘नेतन्याहूको इन्कार र जामरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही सुरु भएपछि यो बिदाइ तस्बिर।’
यो सन्देश इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्ध अन्त्य गर्न हमाससँग कुनै सम्झौता नगरेको र इजरायली सेना प्रमुख अयाल जामरले पनि गाजा शहरका लागि सरकारको ‘विजय’ योजनाप्रति आपत्ति जनाए पनि तीव्र भूमि र हवाई आक्रमण बढाएको सन्दर्भमा आएको हो ।
इजरायली अधिकारीहरूले करिब २० बन्धक अझै जीवित रहेको बताएका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने दाबी गरेका छन् । नेतन्याहूले भने बारम्बार सबै बन्धकहरूलाई फर्काउने र हमासलाई ‘नष्ट’ गर्ने घोषणा गर्दै आएका छन् ।
हमासले इजरायली आक्रमण बढ्दै जाँदा बन्धकहरूको जीवन जोखिममा रहेको चेतावनी दिँदै आएको छ । केही बन्धकहरू इजरायली बमले मारिएका दाबीसमेत गरिएको छ । उनीहरूले बन्धकहरू गाजा शहरका विभिन्न भागमा छरिएका रहेको पनि बताएका छन् ।
शनिबारको यो धम्की इजरायलका लाखौं नागरिक तेल अभिभलगायतका शहरमा सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गर्न, युद्ध अन्त्य गर्न र सबै बन्धकहरूलाई फर्काउन तत्काल सम्झौताको माग गर्न तयारी भइरहेका केही घण्टाअघि आएको हो ।
यसअघि, यसै महिनाको सुरुमा हमासले दुई इजरायली बन्धकहरूको भिडियो जारी गरेको थियो, जुन दुई कुपोषित बन्धकहरूको फुटेज सार्वजनिक गरेको करिब एक महिनापछि आएको थियो । त्यसमा एकलाई आफ्नै चिहान खन्दै गरेको देखाइएको थियो । यी तस्बिरहरूले बन्धकका परिवार, इजरायली सरकार तथा अमेरिका र अन्य सहयोगी राष्ट्रका अधिकारीहरूलाई आक्रोशित बनाएको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि इजरायलको आक्रमणमा कम्तीमा ६५ हजार २०८ प्यालेस्टिनी मारिएका छन् भने १ लाख ६६ हजार २७१ जना घाइते भएका छन् । मार्च १८ मा युद्धविराम भङ्ग भएपछिको अवधि मात्र हेर्दा १२ हजार ६५३ जनाको मृत्यु भएको छ भने ५४ हजार २३० जना घाइते भएका छन् ।


