काठमाडौं । उज्यालो नेपाल पार्टीले जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘उज्यालो नेपाल पार्टी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा प्रहरीको सम्भावित लापरबाहीको समेत छानबिन गर्न सरकारसँग जोडदार माग गर्दछ । दोषीलाई कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गरेर भए पनि दोषीलाई कानुनको कठघरामा उभ्याउन उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ ।’
पार्टीले अपराध रोक्न सकिने अवस्था हुँदाहुँदै प्रहरीको लापरबाहीका कारण घटना भएको पुष्टि भए त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने जनाएको छ । घटनाको मुख्य अनुसन्धानसँगै प्रहरीको सम्भावित लापरबाहीबारे छुट्टै छानबिन गर्न पनि उसले सरकारसँग माग गरेको छ ।
उज्यालो नेपाल पार्टीले पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न, उचित राहत उपलब्ध गराउन तथा परिवारलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने जनाएको छ ।
बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कुनै पनि दबाब वा प्रभावमा नपरी कानुनबमोजिम कारबाही गर्नुपर्ने पार्टीको जोड छ ।


