काठमाडौँ । चीन–नेपाल सीमाक्षेत्रमा रहेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका पनि प्रभावित भएको छ । बाढीले माथिल्लो तटीय क्षेत्रबाट बगाएर ल्याएका भग्नावशेष तथा शवसमेत गाउँपालिकाको क्षेत्रमा थुप्रिएका थिए ।
गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार भाद्र १० र १४ गतेको बाढीपछि बेनीघाटदेखि बुटारसम्मको क्षेत्रमा करिब ४४ वटा बेवारिसे शव उद्धार गरिएको थियो । बाढीमा गाउँपालिकाका केही स्थानीयसमेत प्रभावित भएका छन् । रसुवामा हाइड्रोपावरमा काम गर्ने क्रममा अनिल चेपाङ र ट्रेकिङका क्रममा तुलाराम थापा मगर बेपत्ता छन् । रसुवा भ्रमणका क्रममा बाढीमा परी निधन भएका भगवती माध्यमिक विद्यालयका शिक्षक केदार पण्डितको शव पहिचान गरी अन्त्येष्टि गरिएको छ ।
बाढीबाट गाउँपालिकाभित्र करिब २०–२१ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने नदी किनारका धान तथा मकैका खेतबारीमा ठूलो क्षति पुगेको अध्यक्ष तिमल्सिनाले बताए । उनका अनुसार अहिले उद्धारको पहिलो चरण सकिएर राहत तथा पुनर्निर्माणको काम अघि बढाइएको छ ।
बाढी आउँदै गरेको पूर्वसूचना समयमै प्राप्त भएकाले नदी किनारका बस्तीमा माइकिङ तथा सूचना प्रवाह गरेर नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । यसका कारण भौतिक संरचना र बालीनालीमा क्षति भए पनि गाउँपालिकाभित्र नदीको भेलमा परेर मानवीय क्षति हुन नदिइएको अध्यक्ष तिमल्सिनाले बताए ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगे पनि धादिङ र चितवन जोड्ने त्रिशूली नदीमाथिका तीनवटै मुख्य मोटरेबल पुल भने सुरक्षित छन् । गाउँपालिकाभित्रका सात झोलुङ्गे पुलमध्ये तीनवटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने चारवटामा आंशिक क्षति पुगेको छ ।
यसैबीच, पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भएपछि गण्डकी गाउँपालिकाले आफ्नो क्षेत्र हुँदै जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याएको छ । बेनीघाटबाट दर्बुङ फाँट, लाङ्गाली चोक हुँदै दलभञ्ज्याङ भएर फिसलिङ पुग्ने करिब २४ किलोमिटर सडक अहिले सञ्चालनमा छ । यस मार्गबाट काठमाडौं आवतजावत गर्ने साना सवारीसाधन सञ्चालन भइरहेका छन् ।
अध्यक्ष तिमल्सिनाका अनुसार फिसलिङदेखि बेनीघाटसम्म त्रिशूली नदीको पारिपट्टि निर्माण भइरहेको करिब १९ किलोमिटर सडकमा अब १.४ किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ । उक्त ट्रयाक खुले यात्रुका लागि थप सहज हुने र भविष्यमा राष्ट्रिय राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।
दीर्घकालीन रूपमा कृष्णभीरको विकल्पका रूपमा त्रिशूली नदीको पारिपट्टि समानान्तर राजमार्ग विकास गर्नुपर्ने अध्यक्ष तिमल्सिनाले बताएका छन् । फिसलिङदेखि दलभञ्ज्याङसम्मको करिब १५ किलोमिटर सडक पिच गर्ने तयारी भइरहेको र दलभञ्ज्याङदेखि बेनीघाटसम्मको सडकका लागि संघीय सरकारले करिब ५० करोड रुपैयाँ बजेट उपलब्ध गराए भरपर्दो वैकल्पिक राजमार्ग बनाउन सकिने उनको दाबी छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने दर्बुङलगायत स्थानमा विकास निर्माण रोकिएको विषयमा पनि उनले आपत्ति जनाएका छन् । आयोजना निर्माण सुरु नभएसम्म कम्तीमा अस्थायी तथा अल्पकालीन संरचना निर्माण गरेर स्थानीयको आवागमन सहज बनाउनुपर्ने उनको भनाइ छ ।
गाउँपालिकाले आगामी दिनमा वैकल्पिक सडकलाई ‘लाइफलाइन’ का रूपमा विकास गर्न बजेट रकमान्तर गर्ने तयारी गरेको छ । साथै, जलवायु परिवर्तन र सम्भावित हिमताल विस्फोटबाट हुने विपत्तिको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली बलियो बनाउने, वैज्ञानिक बस्ती विकास गर्ने तथा उच्च जोखिमयुक्त क्षेत्रमा विशेष बजेट र प्राविधिक सहयोग केन्द्रित गर्नुपर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिएका छन् ।


