काठमाडौं : सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न चार बजेतिर गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिने जनाइएको छ।
यसअघि २२ साउनमा सत्तारुढ गठबन्धनको कार्यदलले सरकारका साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री देउवा र शीर्षनेताहरुलाई बुझाएको थियो । नेताहरुले अध्ययन गरेर छिट्टै सार्वजनिक गर्ने बताएका थिए।
सोही विषयमा छलफल गर्न अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ ।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।
पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।
गठबन्धनको कार्यदलले बिहीबार सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो। साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ। शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ।


