काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामाबारे पार्टीको केन्द्रीय समितिमा छलफल हुने भएको छ।
थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए। प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन्।
उनले बुझाएको राजीनामा पत्र हालसम्म सार्वजनिक गरिएको छैन। कांग्रेसका एक पदाधिकारीका अनुसार उक्त राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा केन्द्रीय समितिमा छलफल गरिनेछ।
केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको छ। ‘सभापतिको राजीनामाबारे सोही बैठकमा छलफल र निर्णय हुन्छ,’ ती पदाधिकारीले बताएका छन्। बैठकमा निर्वाचनको समग्र समीक्षा पनि गरिने जनाइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गगन थापा सर्लाही–४ बाट पराजित भएका थिए। उनीसहित निर्वाचनमा उठेका पार्टीका अधिकांश पदाधिकारीहरू पराजित भएका थिए।
विशेष महाधिवेशनपछि छोटो समयमै कांग्रेसले निर्वाचनमा भाग लिएको थियो। उक्त महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। महाधिवेशनलाई लिएर देउवा पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जुन हाल विचाराधीन छ।
निर्वाचनमा अधिकांश उम्मेदवार पराजित भएपछि सभापति थापाको आलोचना हुँदै आएको थियो र राजीनामाको मागसमेत उठिरहेको थियो।


