Sunday, June 28, 2026
Homeसामाचारगएको मनसुनपछि निकै कम वर्षा, वैशाख १५ सम्म वर्षा कमै हुने अनुमान

गएको मनसुनपछि निकै कम वर्षा, वैशाख १५ सम्म वर्षा कमै हुने अनुमान

काठमाडौँ: गएको मनसुन यामपछि नेपालमा पर्याप्त वर्षा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार चैत ९ र १० गते (मार्च २२ र २३) देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम खालको वर्षा भएको भए पनि त्यसयता उल्लेखनीय वर्षा नहुँदा देशभरि सुक्खा अवस्था देखिएको छ।

विभागकी प्रवक्ता विभूती पोखरेलका अनुसार पछिल्लो समय पश्चिमी वायु प्रणालीको प्रभाव अत्यन्तै कमजोर रहेकाले देशभर वर्षा घटेको हो। तापक्रममा वृद्धि भएसँगै वायुमण्डल सुक्खा हुँदा तुवाँलोको प्रभावले पारदर्शिता घटाएको र वायु प्रदूषणलाई थप गम्भीर बनाएको उहाँले बताउनुभयो।

विभागले जारी गरेको अप्रिल महिनाको जलवायु विश्लेषण अनुसार देशभर सरदर (५८.७ मिमी) वा सोभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। यद्यपि चैत २८ सम्म पहाडी क्षेत्रमा केही वर्षाको सम्भावना देखिए पनि ठूलो वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। देशभर मौसममा उल्लेखनीय सुधारको अवस्था नदेखिएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन विभागले सबैमा अनुरोध गरेको छ।

यो वर्ष मनसुनपछि पोष्ट–मनसुन अवधिमा (अक्टोबरदेखि नोभेम्बरसम्म) देशभर सरदर ६४ मिमी वर्षाभन्दा १९.६४ प्रतिशत कम वर्षा भएको थियो। त्यस्तै, तापक्रम पनि सरदर (२०.१ डिग्री सेल्सियस) भन्दा ०.७ डिग्री बढी मापन भएको छ।

हिउँदे मौसम (डिसेम्बरदेखि फेब्रुअरी) मा पनि वर्षा अत्यन्त कम भएको छ। विभागका अनुसार यो अवधिमा सरदर ६०.४ मिमी वर्षाभन्दा ७९.४४ प्रतिशत कम वर्षा भएको छ भने तापक्रम सरदर (१३.५ डिग्री सेल्सियस) भन्दा ०.५ डिग्री बढी मापन गरिएको छ।

मार्च महिनामा पनि देशभर सरदर वर्षा ३२.२ मिमीको तुलनामा २९.५४ प्रतिशतले कमी आएको छ। सोही अवधिमा सरदर तापक्रम १८.८ डिग्री सेल्सियसभन्दा ०.८ डिग्री बढी मापन भएको विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका