काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । १६ गते शनिबारसम्म चल्ने सम्मेलनले सहमतिका आधारमा नेतृत्व चयन गर्ने अखिल क्रान्तिकारीले जनाएको छ। नयाँ नेतृत्वका लागि पदाधिकारी मैदानमा उत्रिएका छन् ।
अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत,पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी, दीपेश पुन दाबेदार हुन् । ती मध्ये एक अध्यक्ष हुनेछन् । बस्नेत हालका वरिष्ठ उपाध्यक्ष हुन् भने सिंह उपाध्यक्ष । यस्तै, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम उपाध्यक्ष हुन् । उत्तम अधिकारी महासचिव हुन् । माओवादी केन्द्रका नेताहरुका अनुसार सिंह, बस्नेत, देवकोटा र अधिकारी प्रमुख दावेदार हुन् ।
पञ्चा सिंह पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनी यसअघिको अधिवेशनबाट अनिल शर्माको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । विद्यार्थी नेताहरुका अनुसार सिंह हालका अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् ।
अध्यक्षका प्रवल दावेदारमध्ये हालका उपाध्यक्ष दीपक देवकोटा पनि हुन् । रसुवा घर भएका देवकोटाले उपत्यकामा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । कालिमाटी अगाडि महेन्द्रको शालिक फोर आन्दोलनमा होमिएका थिए ।
उपाध्यक्ष तीलकराज भण्डारीले अध्यक्षमा दावी गरेका छन् । उनी माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निकट मानिन्छन् । केहिदिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले भण्डारीले लेखेको जनयुद्धको हस्ताक्षर नामक पुस्तक विमोचन गरेका थिए । उनले जनयुद्धमा भूमिगत भएर समेत काम गरेका छन् । सल्यानका भण्डारी विद्यार्थी माझ लोकप्रिय छन्।
महासचिव उत्तम अधिकारी पार्टी विभाजन हुँदा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा थिए । रामबहादुर थापा बादलसँगै उनी माओवादी केन्द्रमा सामेल भएका थिए । काठमाडौं उपत्यकामा संगठन निर्माणमा उनको महत्वपूर्ण भूमिका छ ।
जनजातीतर्फबाट उपाध्यक्ष बनेका दिपेश पुन पनि अध्यक्षका दावेदार हुन् । रोल्पा घर भएका पुन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । विद्यार्थी राजनीति संगठन निर्माणमा उनको योगदान पर्याप्त देखिदैन ।
बस्नेत विद्यार्थी माझ लोकप्रीय छन् । उनी यसअघि उपाध्यक्षमा निर्वाचित भएका थिए। हालका उपाध्यक्ष विजय गौतमले अध्यक्षमा दावी गरेका छन् । अखिल क्रान्तिकारीका नेता असोक भण्डारीले सम्मेलनले विद्यार्थी संगठनको कार्ययोजना र विद्यार्थी आन्दोलनको समिक्षा गर्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले अध्यक्षका दाबेदारसँग कार्ययोजना मागेका छन् । नेतृत्वका आकांक्षीहरुसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलबार तीन घण्टा छलफल गरेका थिए । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा गरेका छन् ।
‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ सम्मेलन भएको हो । सम्मेलनमा ७ सय प्रतिनिधिहरु सहभागी हुनेछन् । यसअघि दुई हजारसम्म प्रतिनिधि सहभागी हुने गरेका थिए । नेपालकै विद्यार्थी संगठनका नेताहरुले पनि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य राख्ने छन् । असोज १५ र १६ गते कार्की व्यांक्वेटमा बन्दसत्र हुने छ ।
बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङको राजनीतिक तथा सांगठनिक प्रस्ताव, महासचिव उत्तम अधिकारीको विधान संशोधन प्रस्ताव र कोषाध्यक्ष केशव रावलको आर्थिक प्रस्ताव पेश हुनेछ ।


