काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेशसहितका अन्य पहाडी तथा तराई भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै यी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला–साना नदी-नालामा पानीको सतह बढ्ने र यातायात क्षेत्र प्रभावित हुने सम्भावना रहेको उल्लेख गर्दै सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।


