इनरुवा (सुनसरी), २० साउन— पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको वर्षाका कारण कोशी ब्यारेज हुँदै बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढावको क्रम जारी रहेको छ।
सोमबार बिहान ६ बजे कोशी नदीमा पानीको बहाव एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो। त्यही बहाव राति ८ बजेसम्म स्थिर देखिए पनि राति १० बजे मापन गर्दा बहाव वृद्धि भई एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो।
पानीको बहाव उच्च रहेका कारण कोशी ब्यारेजका ५२ मूल ढोका र चार वटा नहर ढोकामध्ये १९ वटा ढोका खोलिएको बताइएको छ। ब्यारेज भएर एक लाख ५० हजार क्युसेकभन्दा बढी पानी बग्न थालेपछि सम्भावित जोखिमप्रति सचेत गराउन ‘खतरा सूचक’ रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
स्मरणीय छ, वि.सं. २०६५ भदौ २ गते कोशीमा एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा पूर्वी तटबन्ध भत्किएको थियो, जसले ठूलो जनधनको क्षति गराएको थियो।
हाल पानीको बहाव अझै उच्च रहिरहेकाले कोशी आसपासका बासिन्दालाई सजग र सतर्क रहन सुरक्षा निकायले अनुरोध गरेका छन्।


