Wednesday, September 16, 2026
Homeसामाचारकोलकातादेखि विराटनगरसम्म पहिलोपटक सिधा कार्गो रेल, पूर्वका उद्योगी उत्साहित

कोलकातादेखि विराटनगरसम्म पहिलोपटक सिधा कार्गो रेल, पूर्वका उद्योगी उत्साहित

विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ। वर्षौंदेखिको माग पूरा भएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले यसलाई औद्योगिक विकासका लागि ऐतिहासिक उपलब्धि तथा ‘गेम चेन्जर’को रूपमा व्याख्या गरेका छन्।

गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो। नियमित सेवाअन्तर्गत आएको पहिलो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याएको थियो।

यसअघि तेस्रो मुलुकबाट आउने सामान रेलमार्फत भारतको बथनाहासम्म मात्रै ल्याइन्थ्यो। त्यसपछि ट्रकमार्फत विराटनगर पुर्‍याउनुपर्ने बाध्यता थियो। अब भने रेल सिधै विराटनगरको भन्सारसम्म पुग्ने भएपछि ढुवानी समय छोटिने, लागत घट्ने र उद्योगहरूको उत्पादन प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यो सेवा पूर्वी नेपालको औद्योगिक क्षेत्रका लागि माइलस्टोन भएको बताए। उनका अनुसार ढुवानी खर्च घट्दा उद्योगहरूको उत्पादन लागत कम हुने, प्रतिस्पर्धात्मक क्षमता बढ्ने र त्यसको प्रत्यक्ष लाभ अन्ततः उपभोक्तासम्म पुग्नेछ।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवन सारडाले कार्गो रेल सेवाले विराटनगर औद्योगिक करिडोरका उद्योगहरूलाई देशका अन्य औद्योगिक क्षेत्रसँग अझ प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गरेको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परीक्षणपछि लामो समय रोकिएको सेवा अन्ततः नियमित रूपमा सञ्चालनमा आउनु सकारात्मक भएको बताए। उनका अनुसार रेलमार्फत कच्चा पदार्थ आयात हुँदा ट्रकमाथिको निर्भरता घट्ने, ढुवानी जोखिम कम हुने र उत्पादन लागत नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्नेछ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले सेवा सुरु हुनु मात्र पर्याप्त नभएको उल्लेख गर्दै यसको नियमित सञ्चालन र उद्योगीहरूको सक्रिय प्रयोग नै सफलताको आधार हुने बताए।

यसअघि कोलकातामा आयोजित विशेष समारोहमा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका अधिकारी तथा कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए। सोमबार विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा उद्योगी, व्यवसायी र भन्सार कर्मचारीले स्वागत गरेका थिए भने मंगलबार औपचारिक रूपमा सेवाको शुभारम्भ गरिएको थियो।

विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सञ्चालनका लागि २०८० साल जेठमै परीक्षण गरिएको भए पनि नीतिगत तथा प्रशासनिक जटिलताका कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक समन्वय र प्रक्रियागत सहमति भएपछि अब कोलकातादेखि विराटनगरसम्म कार्गो रेल नियमित सञ्चालनको बाटो खुलेको हो।

उद्योगीहरूका अनुसार सेवा निरन्तर सञ्चालन हुन सके पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात, ढुवानी व्यवस्थापन र समग्र औद्योगिक प्रतिस्पर्धात्मक क्षमतामा दीर्घकालीन सकारात्मक प्रभाव पर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका