Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियकोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा

कोपा अमेरिका फुटबल : उरुग्वे क्वार्टरफाइनलमा

रियो दी जेनेरियो : उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोलले पराजित गर्दै उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो। उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे। अर्को एक गोल आत्मघाती रूपमा उपहार पाएको थियो।

खेलको ४०औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पको आत्मघाती गोलबाट उरुग्वेले सुरुआती अग्रता बनाएको थियो। बल बचाउने क्रममा लाम्पले आफ्नै पोस्ट्को जाली चुमाएका थिए। त्यसपछि खेलको ७९औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को सहज जित दिलाए। लगातार विपक्षी पोस्ट्मा आक्रमण बुनेको उरुग्वेका लागि काभानीले पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न सकेनन्। उनले खेल सकिन ११ मिनेट बाँकी छँदा फर्नान्डो टोरेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यस जितसँगै उरुग्वेले तीन खेलबाट चार अंक जोडेको छ। समूह ‘ए’ मा रहेको उरुग्वे अहिले चौथो स्थानमा छ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये आठ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने भएकाले उरुग्वे पनि अन्तिम आठमा स्थान बनाएको हो।
उरुग्वेसँग पराजय बेहोरेको बोलिभिया अंकविहीन रहँदै तालिकाको पुछारमा छ। बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिसकेको छ। यस समूहमा सात अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पराग्वेको ६, तेस्रो स्थानमा रहेको चिलीको पाँच अंक छ।

शुक्रबार बिहान भएको खेलमा पराग्वेले चिलीलाई २–० गोलले पराजित गर्दै तीन अंक बटुलेको हो। पराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक÷एक गोल गरेका थिए।
खेलको ३३औं मिनेटमा सामुले गोल गर्दै पराग्वेलाई सुरुआती अग्रता दिलाएका थिए। उनले मिगुएलको पासमा गोल गरेका थिए। त्यसपछि खेलको ५८औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई २–० को जित दिलाए। चिलीका ग्यारी मेडेलले कार्लोसलाई फल गरेपछि पराग्वेले पेनाल्टी पाएको थियो। जसमा मिगुएलले सहजै गोल गरे। यस जितसँगै पराग्वेले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। पराग्वेसँग पराजय बेहोरेको चिलीले पनि यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका