काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबार सकिएको छ।
सर्वोच्च अदालतमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको थियो। मंगलबार इजलासमा कुलमानका तर्फबाट कानुन व्यवसायीहरूले र बुधबार हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गरेका थिए। यस्तै, बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले पनि बहस गरेका थिए।
बिहीबार तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए।
सुनुवाइ सकिएसँगै आदेश लेखनको काम भइरहेको छ र आजै आदेश आउने अपेक्षा गरिएको छ।


