काठमाडौं। गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गर्दै हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइरहेका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “यस्ता धर्ना, जुलुस, प्रदर्शन वा आन्दोलन नगरी वार्ता र संवादका माध्यमबाट मागहरूको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ।”
जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गते तय गरिएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको उल्लेख गर्दै प्रवक्ता काफ्लेले सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत साधनको व्यवस्थापन तथा राजनीतिक दल र सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिएका छन्।
देशमा शान्ति–सुरक्षा कायम गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको सहकार्य आवश्यक रहेको भन्दै उनले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे।
विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ र २४ गतेका प्रदर्शनपछि सार्वजनिक सेवा पुनः सञ्चालन गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण आरम्भ गर्ने र शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्कन थालेको छ। सरकारले अब निर्वाचन केन्द्रित वातावरण निर्माणमा ध्यान दिएको छ।”
गृह मन्त्रालयले देशमा अस्थिरता सिर्जना गर्न खोज्ने स्वार्थी समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति र अराजकता फैलाउने प्रयास गर्न सक्ने भन्दै आयोजकहरूलाई सचेत रहन पनि आग्रह गरेको छ।
मन्त्रालयले आफ्ना मागहरू राख्दा जनताको शान्तिपूर्वक बाँच्ने अधिकार, सार्वजनिक सेवामा पहुँच, निर्वाचनमा सहभागी हुने अधिकार कुण्ठित हुन नदिन, राष्ट्रिय एकता र साम्प्रदायिक सद्भाव कायम राख्दै सार्वजनिक र राष्ट्रिय सुरक्षामा खलल नपर्ने गरी जिम्मेवार ढंगले प्रस्तुत हुन सबैमा अपिल गरेको छ।


