Tuesday, June 30, 2026
Homeसामाचारकास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की: कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा चट्याङ लागेर दुई मजदुरको ज्यान गएको छ।

आइतबार हावाहुरीसहित परेको चट्याङले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र १८ वर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

समुन्द्री सतहदेखि ३,८०० मिटर उचाइमा रहेको त्रिवेणी ताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी राख्ने र रेलिङ निर्माणको काममा खटिएका नौ मजदुरमध्ये बाँकी सात जना सकुशल रहेको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबार नै घटनास्थलतर्फ प्रस्थान गरेको डीएसपी शर्माले बताउनुभयो। “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ। त्यहाँबाट घटनास्थल पुग्न पैदल पाँच घण्टाभन्दा बढी लाग्ने भएकाले आज दिउँसोसम्म शव उद्धार प्रक्रिया सुरु हुनेछ,” उहाँले जानकारी दिनुभयो।

नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा पदमार्ग निर्माण कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका