Sunday, June 21, 2026
Homeसामाचारकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

त्रिवेणी (नवलपरासी): कुनै समय दुर्गम मानिएको सर्दी क्षेत्र दुम्किबास–सर्दी कालोपत्रे सडकले जोडिएपछि अब सुगम बनेको छ। विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको यो सडकले घण्टौँको कठिन यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गरेको छ।

गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार दशकौँदेखिको सडक समस्या समाधान भएपछि अन्य विकासका गतिविधि पनि तीव्र भएका छन्। “दुम्किबास–डाँडाजोर–सिद्रे हुँदै कोल्टाडी जोड्ने झन्डै १४ किलोमिटर लामो सडकलाई कालोपत्रे बनाइएको छ। दशकौँदेखि निर्माण हुन नसकेको यो सडक चुनावी प्रतिबद्धता पूरा गर्दै सम्पन्न भएको छ। अब सर्दीसम्मको यात्रा केही समयमै सहजै सम्भव छ,” उहाँले बताउनुभयो।

पालिकाका इन्जिनियर शम्भु केसीले झन्डै रु १७ करोडको लागतमा यो सडक स्तरोन्नति भएको जानकारी दिनुभयो। उहाँका अनुसार यो सडकले स्थानीय बासिन्दाको जनजीवनलाई सहज बनाउनुका साथै अन्य गतिविधिमा पनि उल्लेखनीय वृद्धि गरेको छ।

स्थानीय विष्णुमाया भुजेलले सडक निर्माणपछि वर्षौँदेखिको दुःख अन्त्य भएको बताउनुभयो। “पहिले घण्टौँ पैदल हिँड्नुपर्थ्यो। बिरामी पर्दा समयमै अस्पताल पुग्न नसक्दा ज्यानै जाने घटना हुन्थ्यो। अहिले भने सडकले हाम्रो जीवनमा धेरै सुविधा थपेको छ,” उहाँले अनुभव साझा गर्नुभयो।

यो सडकले विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ का बासिन्दालाई विशेष रूपमा लाभ पुर्‍याएको छ। मुख्य रूपमा वडा नं ३, ४ र ५ का स्थानीयलाई दुम्किबाससम्म पुग्न सहज भएको छ। अब सर्दी–दुम्किबास यात्रा २० मिनेटमै पूरा हुने भएको छ।

गाउँपालिका अध्यक्ष गिरीले सडक विकासलाई अन्य गतिविधिको आधार मानेर प्राथमिकताका साथ यो परियोजना सम्पन्न गरिएको बताउनुभयो। “पालिकाको महत्वपूर्ण लक्ष्य पूरा भएको छ। आगामी दिनमा सबै वडालाई राजमार्ग र पालिकासँग सुविधासम्पन्न सडकले जोड्ने योजना कार्यान्वयन गर्दैछौँ,” उहाँले जानकारी दिनुभयो।

गाउँपालिका उपाध्यक्ष भगवती वैदवारका अनुसार सडक कालोपत्रे भएपछि सर्दी क्षेत्रबाट राजमार्गसम्मको पहुँच सजिलो भएको छ। कष्टकर जीवन सामान्य बन्दै गएको उल्लेख गर्दै, उहाँले यो सडकले करिब तीन दर्जन गाउँका बासिन्दाको यात्रा सहज गर्नुका साथै कृषिउपजको बजारीकरणमा समेत सहयोग पुर्‍याएको बताउनुभयो। यस सडकले विनयी त्रिवेणी मात्र नभई पूर्वी पाल्पाका स्थानीयलाई पनि फाइदा पुर्‍याएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका