Thursday, August 6, 2026
Homeसामाचारकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित बिदाइ

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित बिदाइ

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ उमेर हदका कारण बिहीबारदेखि अनिवार्य सेवा निवृत्त भएका छन्। महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी उनलाई सम्मानसहित बिदाइ गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार गुरागाईँले २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए।

बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायबीच सहकार्य, समन्वय तथा सहअस्तित्व कायम गर्न गुरागाईँले खेलेको प्रशासनिक नेतृत्व महानगरले सधैं स्मरण गर्ने बताइन्।

उनले भनिन्, “पद अस्थायी हो, सेवा स्थायी हो। पदीय जिम्मेवारी सकिए पनि सेवाको भावना समाप्त हुँदैन। सेवा निवृत्तिपछि पनि यहाँले समाज र संस्थाका लागि अझ परिष्कृत रूपमा योगदान दिनुहुने विश्वास लिएका छौँ।”

सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पनि महानगरको संस्थागत विकासका लागि गुरागाईँको ज्ञान, सीप र अनुभव भविष्यमा समेत उपयोगी हुने विश्वास व्यक्त गरे।

बिदाइ कार्यक्रममा गुरागाईँले आफ्नो साढे ३२ वर्षे निजामती सेवामध्ये काठमाडौं महानगरपालिकामा बिताएको समय सबैभन्दा स्मरणीय रहेको बताए।

उनले भने, “प्रशासनिक सेवामा उतारचढाव आउनु स्वाभाविक हो। मैले ती सबै अवस्थालाई सहज रूपमा स्वीकार गर्दै आफ्नो जिम्मेवारी निर्वाह गरेको छु।”

२०५१ साल पुस १९ गते शाखा अधिकृतका रूपमा संघीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँले आफ्नो सेवाकालको अधिकांश समय स्थानीय तहमा बिताएका थिए। उनले करिब २१ वर्ष स्थानीय तहमा तथा करिब दुई वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए।

काठमाडौं महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदमै कार्यरत रहँदा अनिवार्य सेवा निवृत्त हुने उनी पहिलो अधिकारी बनेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका