मकवानपुर । राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको काठमाडौं–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माणको समष्टिगत भौतिक प्रगति ४५ प्रतिशत नाघेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको हाल भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ।
आयोजनाअन्तर्गत महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण हुने सात सुरुङमध्ये पाँचवटा हाल निर्माणाधीन छन्। मकवानपुरको धेद्रे र लेनडाँडामा रहेका चारवटा (दुईतर्फी) सुरुङको ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ।
सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ। ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रूतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर हुनेछ। यसमध्ये पहाडी क्षेत्रमा सडक चौडाइ २५ मिटर र तराई क्षेत्रमा २७ मिटर कायम गरिनेछ। आयोजनाअन्तर्गत ललितपुरमा नौ किलोमिटर, काठमाडौंमा ४.६ किलोमिटर, मकवानपुरमा ४९.७ किलोमिटर र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ।
द्रूतमार्गमा साना तथा ठूला गरी कुल ८९ वटा पुल निर्माण गरिनेछन्। हालसम्म १३ स्थानका विशेष प्रकृतिका पुल निर्माण सम्पन्न भइसकेका छन्, जसको उचाइ ८२ मिटरसम्म रहेको छ। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई निर्माण कार्य सञ्चालनमा रहेको छ।
कार्यदलका अनुसार बाँकी चार स्थानका पुल निर्माणका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानको प्रक्रियामा छ। हालसम्म ५४ पुलको फाउन्डेसन र ३४ पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ। तीव्र गतिमा निर्माण भइरहेकाले आयोजना निर्धारित समयमै सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म थप १५ स्थानका पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ, जसको कुल लम्बाइ १२.८८५ किलोमिटरभन्दा बढी हुनेछ। आयोजनाअन्तर्गत ११ किलोमिटर सडकमा सबबेस तथा सर्भिस लेन निर्माण भइसकेको छ भने पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।
निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण सम्पन्न भइसकेको छ भने खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज निर्माण कार्य भइरहेको छ। आयोजनाका लागि आवश्यक १५ हजार ४१६ रोपनी जग्गामध्ये खोकना क्षेत्रबाहेक अन्य सबै स्थानको जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ।
‘एसियन हाइवे स्ट्यान्डर्ड’अनुसार निर्माण भइरहेको यो द्रूतमार्ग देशकै पहिलो हो, जसले राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने रणनीतिक महत्व राख्दछ। आयोजनाको प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। द्रूतमार्ग २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको सेनाले जनाएको छ।
आयोजना सम्पन्न भएपछि काठमाडौँबाट मध्य तराईसम्म करिब एक घण्टामै यात्रा गर्न सकिने अपेक्षा गरिएको छ। यसले ढुवानीलाई सहज बनाउँदै आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास लिइएको छ।
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आयोजना स्थलको निरीक्षण गर्दै स्थानीयको भावना अनुरूप धार्मिक आस्था र सांस्कृतिक सम्पदालाई असर नपर्ने गरी द्रूतमार्ग निर्माणलाई तीव्रता दिन निर्देशन दिएकी थिइन्।
सुरुआती चरणमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिमा ढिलाइ हुँदा कार्य प्रभावित भए पनि नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते आयोजना निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। आयोजनाको डीपीआर भने २०७६ भदौ १ गते स्वीकृत भएको थियो।
अन्तरराष्ट्रियस्तरको यो द्रूतमार्ग निर्माणबाट प्राप्त अनुभवले देशको सडक सञ्जाल विस्तारमा राज्यको क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।


