काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १११ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सीसीटीभीमार्फत ८५ जना र रातो बत्ती उल्लंघन गर्ने १०१ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३६ जना, लेन क्रस गर्ने ३० जना र सवारीको अवस्था ठीक नभएका २६ जना चालक कारबाहीमा परेका छन्।
एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ४६६ जना चालकलाई समेत कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।


