काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौंलाई दिगो रूपमा सुन्दर र सफा शहर बनाउन दीर्घकालीन योजना बनाउन लागिएको बताएका छन् ।
शनिबार बागमती सफाइ महाअभियानको ६५०औं हप्ता सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले चार–पाँच महिनाको सरकारबाट सबै काम पूरा हुन नसक्ने भन्दै दीर्घकालीन दृष्टिकोणसहित काठमाडौंको सुन्दरताको लागि कार्ययोजना तयार पारिने बताए ।
उनका शब्दमा, “काठमाडौंका सबै नदी–नालाको सफाइमा ठूलो लगानी आवश्यक छ । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकार सबैले मिलेर काम गर्नुपर्छ । हामी अहिले दिगो रूपमा काठमाडौंलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्नेबारे छलफल गर्दैछौं र त्यसका लागि कार्ययोजना बनाउँदैछौं ।”
मन्त्री घिसिङले नदीनाला सफाइ अभियान फक्त नदीनालाका लागि मात्र नभई सम्पूर्ण फोहोर व्यवस्थापनको अभियान हो भन्ने बताए । उनका अनुसार, काठमाडौंका नदी–नाला सफा भए मात्र शहर सुन्दर र स्वस्थ वातावरणयुक्त बन्न सक्छ ।
“जब काठमाडौंका नदी–नाला सफा हुन्छन् र ती क्षेत्रमा बस्न मिल्ने वातावरण बन्छ, तब मात्र काठमाडौं साँच्चिकै सुन्दर र सफा शहर बन्छ,” उनले भने । “नदी–नाला फोहोर हुने स्रोत नै काठमाडौंका घर र सडकहरू हुन् । त्यसैले नदीनाला सफा हुनु भनेको सम्पूर्ण शहर सफा हुनु हो ।”


