काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ महानगरपालिकाको समन्वयमा तीव्ररूपमा अघि बढाइने भएको छ।
तारलाई भूमिगत गर्ने क्रममा फिल्डमा देखिएका समस्या समाधानका लागि प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई अनुगमन तथा समन्वयको जिम्मेवारी तोकिएको छ।
सडक विभाग र अन्य निकायबाट सहमति नआएको, निर्माण व्यवसायीले काम सकेपछि सडक मर्मत नगरेकोजस्ता गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि तथा निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका थिए।
मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुअघि काठमाडौंका सबै क्षेत्रमा भूमिगत लाइनको काम सक्न निर्देशन दिए। साथै विद्युत् आपूर्ति सुरु भइसकेका स्थानमा इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको तार हटाउने कार्य तत्काल थाल्न आग्रह गरे।
उनका अनुसार पुतलीसडकसहित बाँकी क्षेत्रका काम ढिलो भएको हुँदा “अहिलेै अन्तिम मौका भएकाले” काम छिटो अघि बढाउन सबै पक्षलाई आग्रह गरिएको छ। उनले भूमिगत लाइन निर्माणपछि सडक मर्मतलगायतका कार्य तत्काल सम्पन्न गर्न पनि निर्देशन दिए।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सडक विभाग तथा स्थानीय तहसँग समन्वय गर्दै कार्य अघि बढाइने बताए। उनका अनुसार भूमिगत लाइन बनेका क्षेत्रमा विद्युत् आपूर्ति सुरु भइसकेको छ र ओभरहेड तार क्रमशः हटाइँदै जानेछ।
काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ र स्वचालित बनाउन प्राधिकरणले चार चरणमा काम अघि बढाएको छ। पहिलो चरणअन्तर्गत रत्नपार्क र महाराजगञ्ज क्षेत्रको काम सुरु भइसकेको छ भने समग्र उपत्यकामा लगभग ८० प्रतिशत काम सकिएको छ।
यो परियोजनाअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका भूमिगत लाइन निर्माणसँगै अप्टिकल फाइबर समेत बिछ्याइँदै छ। यसले शहरभर गुजुल्टिएको तारको जाल हटेर शहरी सौन्दर्य बढ्ने, प्रणाली सुरक्षित हुने तथा अव्यवस्थित तार हट्ने अपेक्षा गरिएको छ।
काम गर्दा सडकमा न्यूनतम क्षति होस् भन्ने उद्देश्यले राति काम गरिने र धूलो न्यूनीकरणका पर्याप्त व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। भूमिगतकरणका क्रममा क्षति पुगेका सडक १० दिनभित्र मर्मत सक्ने व्यवस्था गरिएको छ।


