Sunday, May 10, 2026
Homeसामाचारकाठमाडौंमा वायु प्रदूषण बढ्दो, स्वास्थ्यमा जोखिम

काठमाडौंमा वायु प्रदूषण बढ्दो, स्वास्थ्यमा जोखिम

काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ। सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकांक (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्दछ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोग भएका व्यक्तिलाई बढी असर पार्न सक्छ।

एयर क्वालिटी इन्डेक्सअनुसार आज काठमाडौं विश्वकै तेस्रो सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ। दिल्ली २२९ एक्युआईसहित पहिलो तथा लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन्।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने सम्भावना छ। वर्षाले हावामा रहेका धुलो र कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समय सुक्खा मौसम रहँदा प्रदूषण बढ्ने उनले बताए। उनले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको जानकारी दिए।

वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल र पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो तथा लामो सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ। समयमै नियन्त्रणका उपाय नअपनाए अवस्था जटिल बन्न सक्ने उनको चेतावनी छ।

एक्युआई मापनअनुसार ० देखि ५० राम्रो, ५१ देखि १०० सचेत रहनुपर्ने, १०१ देखि १५० अस्वस्थ, १५१ देखि २०० सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ तथा ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ।

काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकार ले एक्युआई ३०० नाघेमा विपद् घोषणा गर्ने व्यवस्था गरेको छ। प्रदूषण न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइमा आधुनिक उपकरण प्रयोग गर्ने तथा संवेदनशील समूहलाई सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने योजना रहेको छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड तयार गरी प्रमुख सहर तथा औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गर्ने रणनीति सरकारले अघि सारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका