Thursday, May 14, 2026
Homeसामाचारकाठमाडौँ महानगर बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै

काठमाडौँ महानगर बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले फोहर बिसर्जन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।
काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइने कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनकामपाले प्रशोधन केन्द्र निर्माण गर्न लागेको महानगर वातावरण विभागले जनाएको छ।

महानगर वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार थोरै मात्रामा जैविक मल बनाउने काम यसअघि बाट नै सुरु गरिएको भए पनि केन्द्र निर्माण काम भएको थिएन, केन्द्र निर्माणका लागि भने अहिले ‘डिजाइन’को तयारी भइरहेको छ । उत्पादित मललाई बञ्चरेडाँडा आसपासमा महानगरले वृक्षरोपण गरेको रूख बिरुवामा राख्ने र बढी भएको मल स्थानीयलाई दिने तयारी छ ।

महानगरले एक वर्षअघिदेखि टेकुमा कम्पोष्ट मल बनाउन सुरु गरिसकेको छ । यसका लागि महानगरले ३२ वटै वडालाई र बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने अन्य स्थानीय तहलाई पनि स्रोतमा नै कुहिने र नकुहिने फरक–फरक भाँडोमा फोहर राखेर सोही अनुसार अन्तिम व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरसहित काठमाडौँ उपत्यकाका १७ स्थानीय तहबाट दैनिक एक हजार पाँच सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हँुदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ ।

सबै फोहर उक्त स्थानमा व्यवस्थापन हुँदा समस्या आउन सक्ने भन्दै कामपाले स्रोतमा नै फोहर वर्गीकरण गर्न सम्बन्ध भएका सबैलाई आग्रह गरेको छ । अन्यथा बञ्चरेडाँडामा लामो समय फोहर व्यवस्थापन थर्न नसकिने पनि कामपाको भनाइ छ ।

विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका