काठमाडौँ: काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाउन ‘घुम्ती खाद्य प्रयोगशाला’ सञ्चालन थालेको छ। यस अभियानको सुरुआत बिहीबार उपप्रमुख एवं अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र नर्भिक अस्पतालका क्यान्टिनमा खाद्य नमूना संकलन तथा परीक्षण गरेर गर्नुभएको हो।
संयुक्त अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूमा खाद्य स्वच्छता, गुणस्तर तथा संरचनात्मक अवस्था निरीक्षण गर्नुका साथै स्थलगत परीक्षणसमेत गरेको थियो।
कार्यक्रमका क्रममा उपप्रमुख डङ्गोलले उपभोक्ताको स्वास्थ्य र अधिकार सुरक्षित गर्न घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरणहरू संकलन गरिने बताउनुभयो। उहाँले भनिन्, “स्वच्छ र सुरक्षित खाद्य व्यवसायका लागि वैज्ञानिक दृष्टिकोणबाट कार्यक्रम तयार गर्न यसले महत्वपूर्ण आधार निर्माण गर्नेछ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले महानगरको सहकार्यबाट गुणात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
अनुगमन टोलीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालअन्तर्गत सञ्चालित सुनिल क्यान्टिन, स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), निःशुल्क खाजा वितरण केन्द्र, सुप वितरण कक्ष तथा बिरामीका लागि खाना पकाउने भान्छाको निरीक्षण गरेको थियो। साथै, नर्भिक अस्पतालअन्तर्गत सञ्चालित क्याफे केयर प्रालिको पनि निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा दूध, पानी र खानेतेलको नमूना संकलन गरिँदा ती सबै मापदण्डअनुसारको गुणस्तर भएको पाइएको छ। यद्यपि, मःमसँग प्रयोग हुने अचार र नर्भिक क्याफेबाट लिइएको क्रिम दुनटको नमूना ‘रिफरेन्स प्रयोगशाला’मा थप परीक्षणका लागि पठाइएको छ।
महानगरपालिकाका ‘फुड टेक्नोलोजिष्ट’ भारती अधिकारीका अनुसार, प्रसूति अस्पतालको क्यान्टिनमा मासुजन्य पदार्थ र तरकारीहरू सँगै राखिएको, ग्यास चुलो र फ्रिज फोहर अवस्थामा रहेको, व्यक्तिगत सरसफाइ कमजोर देखिएको तथा लेबल नभएका खाद्य वस्तुहरूको प्रयोग भएको पाइयो। साथै, ‘सिन्थेटिक’ रङको अनुचित प्रयोगसमेत भेटिएको जानकारी उहाँले दिनुभयो।


