काठमाडौँ, २९ असोज — जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदन सेवा पुनः सुरु गरेको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार, सेवा बिहान ७:०० बजे देखि साँझ ७:०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ।
सीमित आवेदन स्टेशनमार्फत सुरु गरिएको यस सेवाका लागि अनलाइन स्लट प्रत्येक दिन साँझ ५:०० बजे खुल्ने व्यवस्था गरिएको छ।
सूचनामा भनिएको छ, “सेवाग्राहीको अत्यधिक चाप र आवेदन स्टेशन सीमित भएकाले, सेवाग्राहीले आवेदन फारममा उल्लेख गरिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ।”
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा कार्यालय भवनमा आगजनी र तोडफोड भएका कारण राहदानी सेवा प्रभावित भएको थियो।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार, आजदेखि राहदानी आवेदन सेवा दुई सिफ्टमा सञ्चालनमा आउने छ, जसले सेवाग्राहीको भीड व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।


