काठमाडौँ – दसैँ मनाउन उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। घटस्थापनादेखि अहिलेसम्म आठ दिनमा पाँच लाख ५३ हजार २६१ जना उपत्यका छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना (असोज ६) देखि आजसम्म उक्त सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट बाहिरिएका हुन्। पछिल्लो २४ घण्टामात्रै ८५ हजार २८४ जनाले उपत्यका छाडेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले यात्रुको चाप बढेसँगै विभिन्न नाका र पार्किङस्थलमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले थप्नुभयो, “यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली सक्रिय छन्। ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ।”
चाडपर्वमा विशेषगरी लामो दूरीका चालकलाई मादक पदार्थ सेवन नगर्न, निर्धारित गतिमा मात्र सवारीसाधन चलाउन र प्राविधिक अवस्था जाँच गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि हालसम्म उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या एक लाख ८९ हजार पुगेको छ। यी सवारी साधनमार्फत प्रस्थान गर्ने यात्रुको मुख्य गन्तव्य देशका पूर्व, पश्चिम र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन्।
यता, उपत्यकामा भने हालसम्म ७२ हजार ४१ सवारीसाधनमार्फत दुई लाख ८५ हजार ३०८ जना भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रमुख नाका—कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क र जगती क्षेत्रमा यात्रुको भीड देखिएको छ।
राजधानीबाट बाहिरिने यात्रुको मुख्य भर सार्वजनिक सवारीमाथि भए पनि निजी सवारीसाधन र पर्यटक बसको प्रयोग गर्नेको संख्या पनि उल्लेख्य छ। गाउँमा पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीका ग्रहणको वातावरण चुलिँदै गएसँगै काठमाडौँमा भने सवारी चाप घटेर सडक तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन्।


