Friday, April 24, 2026
Homeराजनीतिकांग्रेस संसदीय दलको नेता चयन आज, तीन जनाबीच कडा प्रतिस्पर्धा

कांग्रेस संसदीय दलको नेता चयन आज, तीन जनाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।

आजै उम्मेदवारी दर्ता र मतदान हुने कार्यक्रम छ । उम्मेदवारी दर्ता दिउँसो ३ बजेदेखि र मतदान अपराह्न ५ बजेदेखि सुरु हुने तय गरिएको छ ।

कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले यो पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गरेका छन् । तीनै जनाले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन् ।

पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई धार देखिएको छ । केसी र आचार्य संस्थापन (विशेष महाधिवेशन पक्षधर) नजिक मानिन्छन् भने आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् ।

आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आङ्देम्बे र केसी समानुपातिक प्रणालीबाट संसद्मा आएका हुन् । केसी कांग्रेसका वरिष्ठ तथा अनुभवी सांसदका रूपमा चिनिन्छन् भने आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् बनेका थिए ।

पार्टीभित्र समर्थनको समीकरण पनि विभाजित देखिएको छ । आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मा, पूर्वसभापति शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला समूहको समर्थन रहेको बताइएको छ ।

उता सभापति गगन थापासहित केही पदाधिकारी भने केसीको पक्षमा देखिएका छन् । यद्यपि, पारिवारिक आरोप नलागोस् भन्ने चिन्ताले थापा स्वयं स्पष्ट रूपमा अघि नबढेको बताइन्छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास भए पनि सफल हुन सकेको छैन । सहमति नजुटेमा निर्वाचनमार्फत नै नेता चयन हुने निश्चित देखिएको छ ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ पछि दलको नेता निर्वाचनबाटै चयन हुँदै आएको छ । यसपटक पनि आन्तरिक गुटबन्दीका कारण मतदानबाटै नेता चयन हुने सम्भावना प्रबल देखिएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका