काठमाडौं । नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद प्रतिनिधिसभा निर्वाचनपछि झन् चर्किएको छ। संस्थापन पक्ष पार्टी एकताको पक्षमा देखिए पनि संस्थापन इतर समूह भने गुटभेला र शक्ति प्रदर्शनमा सक्रिय बनेको छ।
विशेष महाधिवेशनबाट आएको नेतृत्व र बाहिरिएको नेतृत्वबीचको मतभेद अहिले शक्ति संघर्षमा रूपान्तरण भएको नेताहरूको भनाइ छ। सार्वजनिक रूपमा एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी झन् बढ्दै गएको देखिएको छ।
शनिबार पूर्णबहादुर खड्का ले गृह जिल्ला सुर्खेत पुगेर सभापति गगनकुमार थापा सिंगो पार्टीको सभापति बन्न नसकेको टिप्पणी गरेका थिए। उनले पार्टी विभाजनको डिलमा पुगेको भन्दै पार्टी मिलाउने वा फुटाउने जिम्मा वर्तमान नेतृत्वकै काँधमा रहेको बताएका थिए।
त्यसको भोलिपल्ट सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल समितिबाहिर रहेका नेताहरूलाई केन्द्रीय कार्यसमिति तथा अन्य समितिमा सम्मानजनक रूपमा समेट्न आफू तयार रहेको बताएका छन्।
थापाले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि सबै पक्षलाई सहभागी गराएर १५औँ महाधिवेशनलाई पारदर्शी बनाउन चाहेको उल्लेख गरे। उनले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा विभेद नगर्ने प्रतिबद्धता पनि जनाए।
तर मीन विश्वकर्मा लगायत देउवानिकट नेताहरूले सभापति थापाको प्रस्ताव केवल सार्वजनिक मञ्चको भाषणमा सीमित रहेको आरोप लगाएका छन्। विश्वकर्माले संवाद र सहमति बिना एकता सम्भव नहुने बताए।
त्यस्तै रामहरि खतिवडा ले पनि सार्वजनिक अभिव्यक्तिमात्रै पर्याप्त नहुने भन्दै सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का र डा. शेखर कोइराला बीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताएका छन्।
नेताहरूका अनुसार पार्टीभित्र अहिले ‘जरा अभियान’ र एकताको बहस समानान्तर रूपमा चलिरहेको छ। इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित सबै नेताहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउनुपर्ने माग अघि सारेको छ।
उता सभापति थापाले भने आफूले इतर पक्षका नेताहरूसँग भेटेरै प्रस्ताव राखेको दाबी गरेका छन्। तर खड्काले हालसम्म थापासँग भएको भेटबारे सार्वजनिक रूपमा प्रस्तावको विवरण खुलाएका छैनन्।
सुर्खेतमा सम्पन्न प्रदेशस्तरीय भेलाले पनि १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन शीर्ष नेताबीच तत्काल सघन संवाद हुनुपर्ने निष्कर्ष निकालेको छ। कांग्रेसभित्र बढ्दो अविश्वासका बीच पार्टी एकता कायम गर्ने चुनौती नेतृत्वसामु थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।


